नियम १२
पारिश्रमिक कट्टी हुने रकमको हद, तरिका वा म्याद
: (१) ऐनको दफा २४ बमोजिम कुनै कामदार वा कर्मचारीको पारिश्रमिक कट्टी गर्नु पर्दा देहायका कुराहरुको अधीनमा रही कट्टी गर्न सकिनेछ :
(क) लागेको जरिवाना कट्टी गर्नु पर्दा प्रत्येक पटक पाउने पारिश्रमिकको तेत्तीस प्रतिशतको दरमा नबढाई त्यस्तो जरिवाना वा कट्टा गर्नु पर्ने रकम असुल उपर नभएसम्म ।
(ख) जानी जानी वा लापरवाहीले चियाबगानको नगदी वा जिन्सी नोक्सान गरेबापत वा कुनै चिज वस्तु हराए बापत कट्टी गर्नु पर्दा प्रत्येक पटक
पाउने पारिश्रमिको पच्चीस प्रतिशतको दरमा नबढाई त्यस्तो कट्टी गर्नु पर्ने रकम असुल उपर नभएसम्म ।
(ग) पेश्की वा बढी पारिश्रमिक वा सुविधा बापत दिइएको कट्टी गर्नु पर्दा सो कट्टी गर्ने सम्बन्धमा चियाबगानका व्यवस्थापक र कामदार वा
कर्मचारीका वीच कुनै शर्त निर्धारण गरिएको भए सोही शर्त बमोजिम र त्यस्तो शर्त निर्धारण नभएकोमा प्रत्येक पटक पाउने पारिश्रमिकको
पच्चीस प्रतिशतको दरमा नबढाई त्यस्तो पेश्की वा बढी पारिश्रमिकको रकम असुल उपर नभएसम्म ।
(घ) कुनै सरकारी कार्यालय वा अदालतको आदेश बमोजिम कट्टी गर्नु पर्दा त्यस्तो आदेशमा म्याद किटान भएको भए सोही म्यादभित्र चु्क्ता गर्न आवश्क पर्ने जति प्रतिशतको दरले र म्याद किटान नभएकोमा प्रत्येक पटक पाउने पारिश्रमिकको पचास प्रतिशतको दरमा नबढाई त्यस्तो
आदेश बमोजिम रकम असुल उपर नभए सम्म ।
(ङ) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको अन्य अवस्थामा कुनै रकम कट्टी गर्नु पर्दा प्रत्येक पटक पाउने
पारिश्रमिकको पचास प्रतिशतको दरमा नबढाई त्यस्तो कट्टी गर्नु पर्ने रकम असुल उपर नभएसम्म । (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि चियाबगानको कामदार वा कर्मचारीबाट असुल उपर गर्नु पर्ने सबै रकम कट्टी नहुँदै निजको मृत्यु भएमा वा कुनै कारणबाट चियाबगानको सेवाबाट अवकाश पाएमा निजबाट असुल उपर गर्न बाँकी भए जति रकम चियाबगानबाट निजले पाउने रकम भएमा सोही रकमबाट कट्टा गरी असुल उपर गरिनेछ ।